माक्र्सवादका प्रवर्तक दार्शनिक फ्रेडरिख एंगेल्सले लेखेका छन्ः क्रान्ति भनेको दुईधारे तरबार हो, चलाउन जाने अरुलाई काट्छ, नजाने आफैंलाई काट्छ । माओवादी जनक्रान्तिको निरन्तरता र उपलब्धिको रुपमा स्थापित संविधान सभाको दोस्रो चुनावको नतिजा अहिले नकेपा एमाओवादी (यसपछि माओवादी मात्रै भनिएको) को लागि चलाउन नजानेको त्यही दुई धारे तरवार भएको छ, जसले स्वयं माओवादीलाई घाइते बनाएर अनपेक्षित पराजयको तीतो स्वाद चाख्न बाध्य बनाइदिएको छ ।
निर्विवाद सत्य हो– संविधान सभाको निर्वाचन माओवादी जनयुद्धले स्थापित गरेको क्रान्तिकारी उपलब्धि हो । राजासँग घाटी जोडिएको कुरा गर्ने कांग्रेसदेखि राजाको पाउमा दाम चढाउने एमाले पार्टीसम्मलाई लतारेर, घिसारेर अनि फकाएर संविधानसभामा सहमत गराउने पार्टी पनि माओवादी नै हो । वास्तवमै २००७ सालमै राजाले स्वीकारिसकेको तर नेपालकै राजनीतिक दलहरुकै कारण राजा महेन्द्रबाट निर्ममतापूर्वक हत्या गरिएको संविधानसभालाई पुनर्जीवित गर्ने पार्टी पनि माओवादी नै हो । स्वयं माओवादीले पनि संविधान सभाको निर्वाचनलाई जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने र जनताको अधिकार स्थापित गराउने माध्यम बताउँदै त्यसलाई क्रान्तिकै एक रुप हो भनी व्याख्या–विश्लेषण गर्दै आएको छ । तर दुर्भाग्यवशः आफैंले बलात स्थापित गरेको एजेण्डा संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीले नराम्रो हार खप्नु परेको छ ।
शून्यवादी दार्शनिक नित्सेले भनेका छन्ः कुनै पनि बस्तुको विनाशका मुख्य कारण ऊआफैं भित्र निहित हुन्छ । माओवादीको हारका कारणहरुमा नित्सेको यो भनाइ धेरै लागू हुन्छ । वास्तवमै संविधानसभामा माओवादीको हारका कारणहरु बहुआयामिक छन् र हारका लागि बाह्य षड्यन्त्र र चलखेललाई मात्रै दोष दिएर माओवादी उम्कन सक्दैन । माओवादी हारका लागि बाह्य कारण जति प्रधान रहे त्यति नै जिम्मेवार आन्तरिक कारणहरु पनि हुन् । भन्ने नै हो भने बाह्य कारणहरुका तुलनामा माओवादी पार्टीभित्रकै आन्तरिक कमजोरीहरुका कारण संविधानसभामा उसले नसाचेको परिणाम भोग्नु प¥यो । उसको पराजयमा बाह्य कारणहरु प्रधान हैन, गौण रह्यो ।
संविधानसभाको निर्वाचन २०६४ सालमा माओवादी सबैभन्दा ठूलो पार्टीको रुपमा निर्वाचित हुँदादेखि यता दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा आधारभूत रुपमा फेरिइसकेका परिस्थितिहरुको सही मूल्यांकन माओवादी पार्टीबाट हुन सकेन । ठोस परिस्थितिको ठोस विश्लेषण कम्युनिष्टहरुको आधारभूत कार्यशैली हुनुपथ्र्यो तर त्यो कुरामा माओवादी चुक्यो । प्रथम संविधानसभामा भारी बहुमतले विजयी बनाइसकेपछि माओवादी पार्टी नीति र आर्दशमा क्रान्तिकारी तर व्यवहारमा यथास्थितिवादी पार्टीहरुभन्दा खासै भिन्न नहुनेखालको विचित्रको रह्यो । शान्तिपूर्ण राजनीतिमा हेलिएपछि माओवादी पार्टीको आदर्श र क्रान्तिकारी धार भुत्ते हुँदै गयो । उसको जोड सत्ताको चलखेल, पार्टीको आयतन बढाउनेतिर बढी केन्द्रित भयो, आम जनतासँगको हिमचिम र सहकार्यलाई निरन्तरता दिने कुुरामा माओवादी पार्टी चुक्दै गयो, कतिपय अवस्थामा उदासिन देखियो । संविधानसभामा ठूलो पार्टी स्थापित भइसकेपछि नेता–कार्यकर्ताहरुमा पलाएको दम्भ र जनतासँग निरन्तर जोडिनुको साटो टाढिएर जान थालेको परिस्थितिलाई बेलैमा गम्भीर ढंगले बुझ्न र त्यसलाई सम्बोधन गर्ने कुरामा माओवादी पार्टी चुक्यो । विशेषतः संविधान सभाको पहिलो चुनावको बेला र त्यसपछि पनि पटक पटक सत्तासीन रहँदा माओवादी पार्टीप्रति जनताले गरेको अपेक्षा, ऊआफैंले जनताप्रति गरेको बाचाबन्धनहरु यथास्थितिवादी राजनीतिक परिस्थितिमा हेरफेर नल्याइकन पूरा गर्न र लागू हुन असम्भव थियो । तर यी कुराहरुलाई लागू गर्नेतर्फ इमान्दार प्रयत्नमा कमी रह्यो र जे जति प्रयत्न गरियो, त्यसलाई लागू हुन नदिन प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरु टुप्पीकसेर माओवादीविरुद्ध धु्रवीकृत भए । यो कुरालाई बेलैमा भुइँतहसम्म पु¥याई जनतालाई स्पष्ट रुपमा बुझाउने काम माओवादी पार्टीबाट हुनुपथ्र्यो, त्यो हुन सकेन । फलतः बहुसंख्यक आमजनताका नजरमा माओवादी पार्टी र अरु पार्टीहरुमा खासै फरक देखापरेन ।
ठूलो दुःखकष्ट खपेर, जनयुद्धको हण्डर झेलेर आएको माओवादी पार्टी संसदीय दाउपेच र आर्थिक चलखेलमा चुर्लुम्म डुबेर डुङ्डुङ्ती गनाएका यथास्थितिवादी पार्टीहरुभन्दा भिन्न हुनेछ, त्यो निजी सम्पत्ति तथा नातावाद–परिवारवादभन्दा माथि उठेको, राष्ट्र र जनताको उत्थानमा समर्पित सिद्धान्तनिष्ठ पार्टी हुनेछ भन्ने अपेक्षा खटिखाने जनताले राखेका थिए । तर व्यवहारमा त्यसको ठीक विपरीत देखियो । क्यान्टोनमेन्टको रकममा भ्रष्टाचारका कुराहरु, नेता तथा नेतापत्नीहरुको आर्थिक चलखेल र सम्पत्ति मोहका कथाहरुले अखबारका पानाहरु रंगिए । माओवादी पार्टी आफैंले छानबिन समिति बनाउन बाध्य भयो । तर सत्य–तथ्य कुरा के हो ? दोषीहरु को ठहरिए र तिनमाथि के कस्ता कारवाहीहरु भए? जनतामाझ आउन सकेन । यसले पनि माओवादीप्रतिको आस्था, समर्थन र सहानुभूतिलाई जनताको मनबाट पखाल्न भूमिका खेल्यो ।
माओवादीको अर्को ठूलो भूल जातीय मुद्दाको माखेसाङ्लोमा जेलिनु भयो । उसको जोड र बल आफूले उठाएको जातीय मुद्दालाई बर्गीय मुद्दामा रुपान्तरण गर्नेतर्फ हुनुपथ्र्यो तर माओवादीको व्यवहार ठीक त्यसको विपरीत रहेको भाव जनमानसमा स्थापित भयो । द्रोणाचार्यको चक्रव्यूहमा पस्न त जान्ने तर निक्लने कला नजान्ने अभिमन्युको हालत भयो माओवादीको, ऊ पनि निस्कनै नसक्ने गरी जातीयताको चक्रव्यूहमा फस्न पुग्यो । लामोसमयसम्म शासनसत्तामा सहभागी भएकै कारण कुनै अमुक जाति चाहिँ उत्पीडित जाति भनेर थोकमा आरोपित गर्ने र वर्गविश्लेषण भन्दा पनि जातीय विश्लेषणका आधारमा उनीहरुलाई भित्तैमा पु¥याउने भूल व्यवहारमा माओवादीबाट भयो । माओवादीले उठाएको पहिचानसहितको संघीयताको मुद्दाको सारतŒव लामोसमयसम्म राज्यसत्ताबाट पिछडिएका र हेपिएकाहरुलाई राज्यसञ्चालनमा प्रत्यक्ष सहभागी गराउने अर्थमा प्रगतिशील थियो । तर यो मुद्दाको अन्तरवस्तुबारे आम जनतालाई बुझ्ने भाषामा प्रशिक्षित गर्न र सचेत पार्न नसक्दा अर्थको अनर्थ हुन पुग्यो । पहिचानसहितको संघीयतालाई एकल जातको वर्चस्वसहितको राज्यसत्ता स्थापना गर्ने माओवादी एजेण्डाको रुपमा विरोधीहरुबाट अपव्याख्या बढी भयो, जसलाई माओवादीले चिर्न र जनतालाई सही कुरा बुझाउन सकेन । जातीय उत्पीडन समाप्तिको कामनाका साथ माओवादीले खन्न खोजेको स्वर्ग जाने बाटोको परिणाम नर्क जाने बाटो बन्न पुग्यो । उसको यो मुद्दालाई जातीय द्वन्द्व बढाउने माध्यमको रुपमा व्याख्या–अपव्याख्या हुँदा पनि माओवादीबाट यसको सही व्याख्या–विश्लेषण र प्रतिरक्षा गर्ने काम हुन सकेन । जसले गर्दा माओवादी भनेको नेपालमा जाति जातिका बीच युद्ध गराउने शक्ति वा राजनीतिक पार्टी हो भन्ने छाप जनमानसको ठूलो हिस्सामा पर्न गयो । त्यसमाथि थप, सत्ता स्वार्थको चक्करमा मधेशी दलहरुलाई खुसी राख्नकै लागि उनीहरुले उठाएको आत्मनिर्णयको अधिकारसहितको एक मधेश एक प्रदेशको अवस्तुवादी नारामा चाहिँ मौन रहने वा आँखा चिम्लने अनि पहाड र हिमाली क्षेत्रमा बहुजातीय प्रदेश निर्माणमा जोड दिने माओवादीको कार्यनीतिक भूलले माओवादी पार्टी भनेको भारतीय ग्राण्ड डिजाइनमा नेपाललाई जातीय द्वन्द्वको भुँमरीमा धकेलेर मधेशलाई नेपालबाट छुट्याउने उद्देश्यका साथ भारतले उचालेको पार्टी हो भन्ने मनोविज्ञानको विकास र प्रचारलाई त्यसले तोड्न र रोक्न सकेन ।
आगोमाथि घिउ थप्ने अर्को काम माओवादी पार्टीभित्रै चलेको अन्तरघात र विदेशी दलालसम्मको आरोप–प्रत्यारोप पनि रह्यो । सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्ने नेपाली उखानमा विश्वास गर्ने आम मतदातामा त्यो कुराले पनि माओवादी पार्टीप्रति ठूलो वितृष्णा पैदा गराइदिएको हो । सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यमहरुमा माओवादी पार्टी भनेको विदेशीको इशारामा चल्ने दलाल पार्टी हो भन्ने मान्यतालाई स्थापित गर्ने अभियान नै चल्दा पनि माओवादी नेतृत्व कानमा तेल हालेर बस्यो । बिना गृहकार्य र सबै राजनीतिक पार्टीहरुको सहभागितामा आम सहमति कायम नगरी बेमौसमी बाजा बजाउन हतारिएर ‘राष्ट्रघाती’ प्रकृतिको विप्पा सम्झौता गर्नुले माओवादीलाई विदेशी दलाल पार्टीको रुपमा व्याख्या गर्नेहरुका लागि एउटा ठूलो मुद्दा मिल्यो । त्यसमाथि थप, विप्पाकै सवाललाई लिएर माओवादी पार्टीलाई भारतीय दलाल पार्टीको रुपमा चित्रित गर्नेतर्फ माओवादी नेतृत्वकै एक हिस्सा लागिपर्दा र विप्पाका बारेमा सही ढंगले माओवादीले प्रतिरक्षा गर्न नसक्दा राष्ट्रियताप्रति निक्कै संवेदनशील जनमानसको ठूलो हिस्सा चिढिन पुग्यो ।
त्यसै गरी धर्मनिरपेक्षताको प्रश्नमा पनि माओवादीबाट आफ्ना एजेण्डाहरुबारे जनमानसलाई बुझाउने गरी लान सकेन । २०१७ सालमा राजा महेन्द्रले पञ्चायत थोपरे जस्तो धर्मनिरपेक्षताको कुरालाई माथिबाट जबरजस्ती थोपर्दा बहुसंख्यक हिन्दूहरु माओवादी विरोधी बन्न पुगे । काठमाडौंमा दाइ पार्टी र गाई पार्टीलाई भोट, पूर्वतिर रुगा (रुख र गाई) तथा सुगा (सूर्य र गाई), मधेशतिर ‘एकभोट गाछीलाई, एकभोट बाछी’लाई भन्ने नारा चर्कोसँग उठ्नुको कारण पनि यही थियो । काठमाडौंमा समानुपातिकमा गाइले अकल्पनीय भोट ल्याउनुको एउटा प्रमुख कारण पनि यही नै हो ।
२०४६ सालमा राजा वीरेन्द्र अन्यन्तै बदनाम बन्नुको एउटा प्रमुख कारण रानी ऐश्वर्याको चुरीफूरी पनि एक थियो । (राजा वीरेन्द्र हत्याकाण्डमा परेका कारण मात्र पछि लोकप्रिय भएका हुन्।) गणतन्त्र नेपालमा माओवादी पार्टीभित्र पैदा भएका थुप्रै ‘रानी’हरुको चर्तिकलाले पनि जनमानसमा वितृष्णा पैदा गराउन भूमिका खेल्यो । दोस्रो विश्वयुद्धमा स्तालिनले पक्राउ परेका नाजी जर्नेललाई छोडेमा आफ्ना छोरा छुट्ने जर्मनी प्रस्ताव अस्वीकार गरेको, कोरिया युद्धमा मारिएका आफ्ना छोरालाई माओले चीन फिर्ता ल्याउन अस्वीकार गरेर युद्धमा मारिएका आम चिनियाँ सैनिकहरुसँग कोरियमा नै समाधिस्थ गरेको जस्ता कम्युनिष्ट त्याग बलिदानका कथा पढेर त्यसकै अनुकरण गरोस् भन्ने चाहना राख्ने नेपालीहरुका लागि कतिपय माओवादी नेताका छोराछोरीहरुको ‘युवराज’ शैलीले पनि ठूलो वितृष्णा जगाइदियो । युद्धको मोर्चामा अग्रपंक्तिमा भिड्ेका जनताका छोराछोरीहरु क्यान्टोनमेन्टको दुःख र पीडा खपेर बस्ने, अनि युद्धकालमै समेत जनसेनाको सुरक्षा घेरामा आमाबाबुसँगै सापेक्षित रुपमा सुरक्षित बस्ने नेता पुत्र–पुत्रीहरुको शान्तिकालमा पनि ठाँटबाँटका साथ बस्ने युवराज–युवराज्ञी शैलीले पनि माओवादीको भोट शानदारसँग घटाइदियो ।
माओवादी पार्टीभित्र समर्पण, त्याग र बलिदान भन्ने कुरा दन्त्यकथा जस्तै बन्न पुग्यो । ज्यानको बाजी थापेर जनयुद्धमा हेलिएका योद्धाहरुको विजोगको करुण कथा सार्वजनिक हुँदा पनि माओवादी नेतृत्व संवेदनशील बन्न सकेन । न्यायको माग गर्दै आफ्ना कुराहरु सुनाउन पार्टी मुख्यालय पेरिस डाँडामा धर्ना दिन पुगेकाहरुको उचित सुनुवाइ र व्यवस्थापन गर्नुको साटो ‘शुतुरमुर्ग’ले बालुवामा टाउको लुकाएको शैलीमा त्यसलाई वेवास्ता र नजरअन्दाज गर्ने काम भयो । वेपत्ताहरुको मागको सुनवाइको हकमा पनि त्यही शैली अख्तियार गरियो । क्रान्तिको शान्तिपूर्ण विकासको कार्यनीतिका साथ शहर पसेको माओवादी पार्टीको गाउँघरतिर भुँइतहका जनतासँगको सम्बन्ध पातलो बन्न पुग्यो । पार्टीभित्र नवप्रवेशी, चैतेहरुको हालहुकुम बढ्ने तर पुराना एवं समर्पितहरु चाहिँ पाखा लाग्नुपर्ने विचित्रको सांगठनिक पद्दति र संस्कार माओवादीभित्र हुर्कियो । क्रान्तिप्रतिको समर्पण भन्दा पनि विभिन्न स्वार्थ राखेर पार्टी प्रवेश गर्नेहरुको भीड बढ्दा सतर्क र सावधान हुनुको सट्टा माओवादी नेतृत्वले ‘पार्टी सुन्निएको हैन, मोटाएको हो’ भन्ने भ्रम पालिरह्यो । त्यसले समर्पित कार्यकर्ता तथा आम समर्थकहरुको ठूलो हिस्सामा नैराश्यता पैदा गरिदियो । हिजो २०६४ को संविधानसभाको निर्वाचनमा माओवादीलाई जिताउन अहोरात्र लागिपर्ने कार्यकर्ता र जनताका ठूलो पंक्ति यस पटकको निर्वाचनमा करिबकरिब निष्क्रिय अवस्थामा रहेको तथ्य माओवादी नेतृत्वको नजरमा पुग्नै सकेन ।
विभिन्न पार्टीहरुबीचको एकताले माओवादी पार्टी विशाल बन्यो तर त्यो पार्टी एकताले माटोको भाँडा टालिएजस्तो प्रष्टै देखिने विभाजन रेखालाई पुर्न सकेन । फलतः पार्टीभित्र गुट उपगुटहरु कायम रह्यो र संविधानसभाको टिकट वितरण (प्रत्यक्ष–समानुपातिक दुबैमा) पनि त्यसको छाप देखा पर्यो । यसले पनि थोरबहुत असर गर्यो ।
माओवादी पार्टीमा आएको विभाजन पनि संविधानसभाको चुनावमा अनपेक्षित परिणाम आउनुको एउटा कारण रह्यो । पार्टी विभाजनले कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुमा आएको नैराश्यता र त्यसले पैदा गरिदिएको निस्क्रियतालाई पनि वेवास्ता गर्न मिल्दैन ।
हारेपछि आफ्नो प्रगतिशील र अग्रगामी एजेण्डाहरुलाई स्थापित हुन नदिन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र ग¥यो भनेर अरण्यरोदन गर्नुको साटो बैलैमा त्यसबारे सावधान बन्न नसक्नु र सतर्कता अपनाउन नसक्नु माओवादीको महाभूल रह्यो । प्रगतिशील एजेण्डाहरुलाई स्थापित हुन नदिन प्रतिक्रियावादी राज्यसत्ताका हरेक अवयवहरु, जसअन्तर्गत निर्वाचन आयोगसमेत पर्छ; हरहमेशा क्रियाशील हुने गर्छन् भन्ने माक्र्सवादका कखरा सिकेकाहरुले पनि थाहा पाइसकेका कुराहरुलाई हेक्का नराख्नु माओवादीको कार्यनीतिक भूल रह्यो । आफैबाट उछिट्एिका नेकपा–माओवादीको विरोधलाई निस्तेज गर्न र उसलाई ‘साइज’मा ल्याउन सेना परिचालन गर्ने निर्णयमा
‘चकलेट देखाउँदा फुरुङ्ग परेको बच्चा’ जस्तो गरी समर्थन जनाउनु माओवादीको महाभूल थियो । त्यसैको परिणाम, उसले निर्वाचन परिणाम आइसकेपछि मात्रै आशंका गरेजस्तै गरी, माओवादीप्रतिको वर्गवैरीको भाव मेटिइनसकेको नेपाली सेनाको मद्दतमा राज्यसत्ताका यथास्थितिवादी सोच राख्ने शक्तिहरुले चलखेल गर्ने मौका पायो ।
No comments:
Post a Comment