Friday, 13 September 2013

184 काठमाडौं, भाद्र २७ - संघीय समाजवादी पार्टी नेपालले आगामी संविधान सभाको निर्वाचनका निम्ति उम्मेदवारी घोषणाको तयारी गरेको छ । उसले प्रत्यक्ष र समानुपातिक गरी ५ सय ७५ जनाको उम्मेदवारी दिने दावी गरेको छ । पार्टी सचिवालयको शुक्रबार बस्ने बैठकले देशभरिका ५६ जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवार दिने निर्णय गर्ने पार्टी एक नेताले जनाएका छन् । 'सचिवालयले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डा र बैठकको पूर्व तयारीबारे निर्णय गर्छ,' शनिबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकबारे स्रोतले भन्यो, 'केन्द्रीय समितिले निर्वाचन केन्दि्रत एक सूत्रीय छलफल गर्नेछ ।' केन्द्रीय समितिको बैठकले निर्वाचन परिचालन, घोषणापत्र मस्यौदा, उम्मेदवार छनोट, आर्थिक व्यवस्थापन र स्वयंसेवक परिचालन समिति निर्णय गर्ने जनाइएको छ । ती समितिले कार्ययोजना र मापदण्ड निर्माण गरी परिचालन गर्नेछ । केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई प्रत्यक्ष उम्मेदवार तोक्ने समझदारीमा निर्णय गर्ने जनाइएको छ । पार्टीको अध्यक्ष अशोक राई उदयपुर जिल्लाको कुनै एक क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी दिने छन् । राई यसअघि एमालेबाट २०४८ र ०५१ सालमा खोटाङबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि राज्यमन्त्री र दुईपटक मन्त्रीसमेत बनेका थिए भने संविधानसभा विघटनपछि एमालेको केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा गरी संघीय समाजवादी पार्टी नेपाल गठन गरी अध्यक्ष बनेका हुन् । त्यसैगरी पार्टीको आठ उपाध्यक्षहरु विजय सुब्बा तेह्रथुम, दुर्गामणि देवान संखुवासभा, प्रेमकृष्ण पाठक काठमाडौं, बीरबहादुर लामा मकवानपुर, रकम चेम्जोङ धनकुटा, हेमराज राई भोजपुर, मोहम्मद रिजवान अन्सारी सर्लाही र गोपाठ ठाकुर बाराबाट चुनाव लड्ने छन् । सुब्बा २०४८ र ०५६ सालमा तेह्रथुमबाट निर्वाचित सांसद थिए । देवान पूर्व राष्ट्रिय पञ्चायत सदस्य, पाठक वरिष्ठ अधिवक्ता तथा रामराजाप्रताप सिंह नेतृत्वको जनवादी मोर्चाका कार्यवाहक अध्यक्ष थिए । लामा मकवानपुर जिविसका पूर्व सभापति तथा ०५६ सालमा निर्वाचित पूर्वसांसद हुन् । चेम्जोङ २०४८ र ०५१ सालमा धनकुटाबाट निर्वाचित सांसद तथा दुईपटक मन्त्री भएका थिए । राई भोजपुरबाट दुई पटक निर्वाचित सांसद तथा मन्त्री थिए भने अन्सारी अन्तरिम व्यवस्थापिका संसदका सांसद, गृहराज्यमन्त्री तथा संविधानसभाका पूर्वसभासद र ठाकुर संविधानसभाका पूर्वसभासद हुन् । उक्त पार्टीमा यसअघि संविधानसभा सभासदहरुमा प्रत्यक्ष चुनाव जितेका मोहम्म रिजवान अन्सारी र विश्वदीप लिङदेन छन् । त्यसैगरी समानुपातिक तर्फका डा. मंगलसिद्धि मानन्धर, राजकुमार राई, रणध्वज कन्दङवा, गोपाल ठाकुर, राधा तिमिल्सिना, धीरेन्द्रबहादुर श्रेष्ठ, जोगीलाल यादव र उर्मिलादेवी साह छन् । उनीहरुमध्ये केही प्रत्यक्ष चुनाव लड्ने छन् । आठ महिनाअघि गठन भएको संघीय समाजवादी पार्टीको ५६ जिल्ला संगठन विस्तार गरेका भने बाँकी १९ वटा जिल्लामा संगठन विस्तारको पलह भइरहेको जनाइएको छ । पार्टीका पदाधिकारीमध्ये महासचिव राजेन्द्र श्रेष्ठ काठमाडौंबाट चुनाव लड्ने छन् । उनी ०५१ सालमा निर्वाचित सांसद तथा पूर्वमन्त्री हुन् । यस्तै, तीन उपमहासचिवमध्ये अजम्बर राई काङमाङ भोजपुरबाट चुनाव लड्ने जनाइएको छ । साढे तीनदशकदेखि विद्यार्थी राजनीतिमा संलग्न काङमाङ एमाले युवा संघ नेपालका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य थिए भने समाजवादी पार्टीका निर्मातामध्ये एक सदस्य हुन् । अर्का उपमहासचिव राधा तिमिल्सिना समानुपातिक सिटमा रहने छिन् भने नोर्साङ लामा दोलखाबाट चुनाव लड्ने छन् । तिमिल्सिना नेकपा एकीकृतको तर्फबाट संविधानसभाका सदस्य थिइन् भने लामा कांग्रेस दोलखाका पूर्व नेता हुन् । यस्तैगरी पार्टीका पाँच सचिवमध्ये मिना गुरुङ कास्की, होरीलाल चौधरी कैलाली, कर्णबहादुर बुढामगर रोल्पा र डिबी नेपाली कास्की वा बागलुङबाट उम्मेदवारी दिनेछन् भने रामसिंह यादव अहिले नउठ्ने स्रोतले बतायो । उम्मेदवारी दिनेमध्ये गुरुङ विद्यार्थी राजनीतिबाट स्थानीय समुदायमा स्थापित नेतृ हुन् भने चौधरी एमाले कैलालीका पूर्व अध्यक्ष तथा स्थानिय आदिवासी समुदायमा जुझारु थारु नेता हुन् । त्यस्तै, बुढामगर माओवादीको 'जनयुद्ध'कालका ब्रिगेडियर कमान्डर हुन् भने दलित नेता नेपाली एमालेका राष्ट्रिय प्रतिनिधि सदस्य थिए । यसैगरी उपमहासचिव महेन्द्र थापामगर स्याङ्जाबाट प्रत्यक्षमा उम्मेदवार बन्ने भएका छन् । उनी २०५१ सालमा एमालेबाट निर्वाचित सांसद् हुन् । थापामगर एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य थिए । उनी नेपाल मगर संघका केन्द्रीय अध्यक्ष हुन् । समाजवादी पार्टीको सल्लाहकार समितिमा अध्यक्ष रहेका डा. मंगलसिद्धि मानन्धर काठमाडौं, अनुशासन समितिका अध्यक्ष रणध्वज कन्दङ्वा मकवानपुर, केन्द्रीय निर्वाचन समितिका अध्यक्ष राजकुमार राई धनकुटाबाट चुनाव लड्ने तयारीमा छन् । मानन्धर योजना आयोगका पूर्व अध्यक्ष, पूर्वसांसद तथा मन्त्री हुन् भने कन्दङ्वा र राई संविधानसभाका पूर्व सभासद हुन् । पार्टीका केन्द्रीय सदस्य विश्वदीप लिङदेनले झापाबाट चुनाव लड्ने छन् । उनी २०६४ को संविधानसभाको चुनावमा एमाओवादीबाट उम्मेदवार भएर एमालेका केपी शर्मा ओलीलाई हराएर चर्चामा आएका थिए । अर्का केन्द्रीय सदस्य आङकाजी शेर्पा काठमाडौंबाट चुनाव लड्ने छन् । उनी नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव हुन् । त्यसैगरी यसअघि तीनपटक सांसद भइसकेका मझिलाल थारु थनेत नवलपरासीबाट उठ्ने छन् । संघीय समाजवादी पार्टीले मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा संगठन विस्तार गर्न बाँकी रहेको जनाएको छ । उसले प्रत्यक्षबाट जित्न सम्भावित जिल्लाबाट उम्मेदवारी दिने र अन्य पार्टीको घोषणापत्र, राजनीतिक कार्यक्रम र प्रस्ताव हेरेर विचार, सिद्धान्त, मुद्दा र एजेन्डा मिल्नेसित चुनावी मोर्चा गर्नसक्ने नेताले बताएका छन् । 'यो निर्वाचनमा मोर्चा निर्माणको आधार विचार र सिद्धान्तभन्दा बढी मुद्दा र एजेन्डा हुनसक्छ,' एक केन्द्रीय नेताले भने । सुदूरपश्चिमका केही जिल्ला र मध्यपश्चिममा संगठन विस्तार बाँकी रहेको जनाएका छन् । - See more at: http://ekantipur.com/np/2070/5/27/full-story/375594.html#sthash.8KwcG8t7.QYW0Rcgh.dpuf
Add caption
Add caption